राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन
काठमाडौँ। मंगलवार साँझ ५ बजेर ५५ मिनेटमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा काठमाडौँको लाजिम्पाट स्थित आफ्नै निवासमा माधव प्रसाद घिमिरेको निधन भएको हो।
वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए। १४ वर्षको उमेरमा गोरखापत्रबाट सिर्जना साहित्य क्षेत्रमा लागेका घिमिरेले थुप्रै कविता, गीत, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा आफ्नो कलम चलाएका थिए।
घिमिरेका प्रमुख कृतिहरुमा नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता अमर कवितासंग्रह सङ्कलित छन्। साथै “गाउँछ गीत नेपाली”,“फूलको थुङ्गा बगेर गयो” र “आजै र राति के देखेँ सपना” घिमरेद्धारा रचित लोकप्रिय गीतहरु हुन।
नेपाल सरकारले २०६० सालमा नेपाली साहित्यमा योगदान गरेका घिमिरेलाई राष्ट्रकविको उपाधिले सम्मान गरेको थियो। यसका साथै राष्ट्रकवि घिमिरेले साझा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार लगायत दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका थिए।